नेकपाका अध्यक्ष दाहालले दिए क्रिकेट टोलीलाई बधाई

काठमाडाैं । नेपाली क्रिकेट टोलीले यूएईमा ऐतिहासिक जीत हासिल गरेपछि खुसियाली छाएको छ । यसै बीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । तेस्रो एक दिवसीय क्रिकेटमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै टोलीलाई बधाई दिएका हुन् ।

सोमबार एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले नेपाली टोलीले ऐतिहासिक जीत हासिल गरेकामा खुसी व्यक्त गरेका छन् । वक्तव्यमा उनले पहिलो अन्तर्र्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई हार्दिक धन्यवाद एवं बधाई ज्ञापन गर्दछु भनेका छन् ।

उनले एकदिवसीय क्रिकेटका कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गर्दै शतक बनाउने पहिलो खेलाडी हुन सफल भएकामा बधाई दिएका छन् । त्यसैगरी ेशनिबारको खेलमा रोहित पौडेलले सबैभन्दा कलिलो उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्व रेकर्ड तोड्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा अझै राम्रो प्रदर्शनका लागि प्रगतिको कामना समेत गरेका छन् ।

अध्यक्ष दाहालले खेलाडी राष्ट्रका गहना मात्र नभएर अमूल्य निधि भएको उल्लेख गर्दै खेलाडीको उचित सम्मान र प्रोत्साहनमा सिङ्गो राज्य समर्पित हुने विश्वाससमेत दिलाएका छन् । नेपाली क्रिकेट टिमले अन्तर्र्राष्ट्रिय जगतमा नेपालको गरिमा बढाएको भन्दै प्रशंसा समेत गरेका    छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार