ओलीलाई अर्को झट्काः एमालेले कारवाही गरेका माधव नेपालका १४ सांसदको पद नजाने

काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ ।  एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा गराएको जानकारी उपर संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेपछि १४ जना सांसदको पद जोगिएको हो। एमालेले ह्वीप उल्लंघनको आरोपमा उनहरुलाई पार्टीबाट निष्कासन गर्दै सांसद पद खारेज गरेको थियो ।

एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते जानकारी गराएको थियो ।

एमालेले नेता नेपालसहित, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई ह्वीप उल्लंघनको आरोपम कारबाही गरेको थियो ।

निर्वाचन आयोगले नेता नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरेको र कारवाहीका लागि सिफरीस भएका १४ सांसदहरु नयाँ दलमा रहेको भन्दै संसद सचिवालयले कारबाही गर्न नपर्ने भनी निर्णय गरेको हो । एमालेका नेताहरुले १४ सांसदलाई कारवाही गर्नुपर्ने भन्दै सभामुख अग्नी सापकोटाको कार्यकक्ष घेराउ गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार