
काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार उनले सामाजिकसंजाल फेसबुकमा लेख्दै अध्यक्ष नेपालबाट आफुलाई धोका भएकाले पार्टीबाट विदा भएको बताएका हुन्।
पार्टीको मार्गदर्शक सिद्धान्तमा कुरा धोका भएको भन्दै उनले पार्टी छोडेको बताएको छन् । अध्यक्ष नेपाल नेतृत्वको नयां पार्टी निर्माणका क्रममा पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद (जबज) उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको र त्यसमा नेता नेपाल पनि सहमत भएको तर अहिले धोका भएको उनको भनाई छ ।
‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा !,’ नेता प्रदिप नेपालले फेसबुकमा लेखेका छन् ।
माधव नेपालको साथ छोडे पनि आफू नेकपा एमालेमा भने नजाने उनले प्रष्ट पारेका छन् । नेता नेपालले लेखेका छन, ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’
नेता नेपाल बिरामी अवस्थामा पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पर्ता प्रमाण पत्र लिनु अघि गरिएको सनाखतका लागि उनि निर्वाचन आयोग पुगेका थिए ।












