
काठमाडौं । नेकपा एमाले फुटेपछि त्यसका नेता, कार्यकर्ताहरु अहिले दुई पार्टीमा विभाजित भइरहेका छन् । एमाले फुटेर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेपछि नेता तथा कार्यकताहरु विभाजित भइरहेका हुन् । एमालेबाट निर्वाचित भएका स्थानिय जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म आफ्नो पार्टी रोज्नका लागि समयावधि तोकेपछि अहिले स्थानिय जनप्रतिनिधिहरु आफ्नो दल रोजिरहेका छन् ।
यसैक्रममा आज काठमाडौंका २ स्थानीय तहका उप–प्रमुखसहित ३५ जना जनप्रतिनिधिले एमाले त्यागेर नेपाल नेतृत्वको समाजवादी रोजेका छन्।
३५ जना स्थानिय जनप्रतिनिधिले आज जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा गएर एमाले परित्याग गरी नेकपा समाजवादीको पक्षमा सनाखत गरेको बागमती प्रदेशसभा सदस्य एवम् नेकपा समाजवादी काठमाडौंका अध्यक्ष बसन्त मानन्धरले जानकारी दिए ।
उनकाअनुसार काठमाडौंको शंखरापुर नगरपालिकाकी उप–प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, तार्केश्वर नगरपालिकाकी उप–प्रमुख भवानी डोटेल धितालसहित ३५ जना नेकपा समाजवादीमा आएका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिकाका २, तारकेश्वर नगरपालिकाका २ र टोखा नगरपालिकाका १ जना वडा अध्यक्ष, काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १५ का अध्यक्ष इश्वर मान डंगोल र वडा नम्बर ७ का वडा अध्यक्ष शुक्रमान डंगोलले पनि ले एमाले त्यागेर नेकपा समाजवादी रोजेका अध्यक्ष मान्नधरले बताए ।
त्यसैगरी, तार्केश्वर नगरपालिका वडा नम्बर २ का रविन्द्र केसी र वडा नम्बर ६ का वडा अध्यक्ष मधु कार्कीले पनि नेकपा समाजवादी रोजेका छन् ।










