असन्तुष्टीका बीच एमाले केन्द्रिय कमिटी बैठक सकियो, भोली स्थायी कमिटी बैठक बस्ने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक विभिन्न प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ । तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज सकिएको एमालेका नेताहरुले बताएका छन् । बैठकले एमालेको विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल गरेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्दै सुझावसहित पारित भएका छन्।

पारित भएका तीनै प्रतिवेदनमा एमाले उपमहासचिव घनश्याम भुषालले भने फरक मत राखेका छन्। उनले राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादबारे प्रतिवेदन अस्पष्ट, संसद विघटनको कारण अस्पष्ट र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै अध्यक्ष ओलीको प्रतिवेदनमाथि फरक मत दर्ज गराएका हुन् ।

तर, छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले भने संसद विघटन हिजो, आज र भोली पनि जायज भन्दै बचाउ गरेका थिए। ओलीले गत पुस र वैशाखमा प्रतिनिधि सभा विघटन गरेका थिए। दुबै पटक सर्वोच्च अदालतको संवैधानिक भन्द्यै संसद वघटनको निर्णय बदर गरिदिएको थियो ।

बैठकले पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोली ११ बजे स्थायी समिति बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेता भिम रावलले पनि १० बुँदे सहमती र पार्टीलाई जेठ २ मा फर्काउनेबारे नेतृत्वमा अलमल रहेको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार