माधव नेपलको पार्टीले बनायो ३३५ सदस्यीय केन्द्रीय कमिटी, दक्षिणपन्थी अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशनमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । उक्त पार्टीले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुंगो लगाएको छ ।

असोज २८ गते अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी र संगठन संरचना तयार पारेका हुन् । जसअनुसार ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको उल्लेख छ । जारी निर्देशनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई बरिष्ठ नेताबाट सम्मानित नेतामा राखिएको छ । पार्टीमा उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यसै, पार्टी महासचिव डा. बेदुराम भुसाललाई संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी दिइएको छ भने उपमहासचिव प्रकाश ज्वालाले संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख, अन्य उपाध्यक्षहरु क्रमश प्रमेश हमाललाई स्कुल विभाग, घनेन्द्र बस्नेत प्रदेश १ को इन्चार्ज, केदार न्यौपाने बागमती प्रदेश इन्चार्ज, केशवलाल श्रेष्ठ गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद साह प्रदेश २ इन्चार्ज र जयन्ती राईलाई महिला फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ ।

पार्टीमा मुकुन्द न्यौपानेलाई उद्योग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रदीप नेपाललाई प्रतिष्ठानहरूको इन्चार्ज बनाइएको छ । जीवनराम श्रेष्ठलाई संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, केही दिन अघि मात्रै एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टी प्रवेश गरेका भानुभक्त जैसीलाई जलस्रोत, सिँचाई तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै पार्टी महासचिव वेदुराम भुसालको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय गठन गरिएको छ ।

त्यस्तै, संघीय सरकारमा मन्त्री रहेका विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई भने हाललाई पार्टीको जिम्मेवारी तोकिएको छैन् ।

अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा पार्टी सदस्यको अभिलेख व्यवस्थित रूपमा खाता तथा डिजिटल माध्यममा राख्न भनिएको छ । मंसिर मसान्तभित्र पुरानो सदस्यता अभिलेख व्यवस्थित गरिसक्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिइएको छ ।

अध्यक्ष नेपालले ुएक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्यु निर्माण गर्ने अभियान सञ्चालन गर्न पनि निर्देशन दिएका छन् ।

एकीकृत समाजवादीले आगामी तीन महिनाभित्र सवै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ । साथै सो पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिएको छ ।

‘कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने,’ अध्यक्ष नेपालले जारी गरेको २३ बुँदे अन्तरपार्टी निर्देशनमा भनिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार