
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वडा कमिटिको अधिवेशन उद्घाटन गरेका छन् । शनिवार दिउँसो १२ बजेपछि ओलीले भर्चुअल माध्यम जुममार्फत देशका ६,७४३ वडा तहको वडा अधिवेशन उद्घाटन गरेका हुन् ।
ऐतिहासिक रूपमा नेपाली राजनीतिमा पहिलो पटक एकै ठाउँबाट देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन गरिएको अध्यक्ष ओलीले दावी गरेका छन्।
ओलीले पार्टीका वडा कमिटी सर्वसम्मतिले सम्पन्न हुने विश्वास लिएको बताएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सबैलाई भूमिका खेल्न ओलीले आग्रह समेत गरे ।
उद्घाटनसत्रमा बोल्दै ओलीले देशभर बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका पीडितलाई राहातको ब्यवस्था गर्न पनि सरकारसंग आग्रह गरेका छन् ।
ओलीले पार्टी एक ढिक्का भएर अघि बढेको वडा कमिटिलाई सन्देश पनि दिन खोजेका छन् । पार्टीमा विगत डेढ बर्षदेखि अनुसाशनहिनता, ब्यक्तिगत कुण्ठा, अराजकताका कारण् केहि समस्या उत्पन्न भएपनि अहिले पार्टी एक ढिक्का भएको दावी गरे ।










