
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँच जना न्यायाधीशको राजीनामा मागेका छन् । संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशको राजीनामा मागेका हुन् ।
एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले न्यायाधीशहरुले नै सर्वोच्चको मान मर्दन गरेको बताएका छन् । पछिल्लो समय जनतालाई मर्का परेका मुद्दाहरु पेन्डिङमा रहेको, तर नक्कली मुद्दाहरु खडा गरेर राजनीतिको थलो बनाउने काम भइरहेको भन्दै उनले अदालतलाई विवाद र तमासाको थलो बन्न नदिन आग्रह समेत गरेका छन् ।
गत असार २८ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।










