काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा छोट्याइएको खेलमा १०४ रन बनाएको हो ।
नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे । पारसले १४ बलमा २९ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । सन्दीपले ११ बलमा २८ रन बनाए । विनोदले १३ बलमा २१ रन बनाए ।
त्यस्तै करण केसीले ५ बलमा १० रन जोडे । टस हारेर ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै पवन सर्राफलाई गुमाएपछि नेपाल दबाबमा आएको थियो । तर विना रन पहिलो ओभरमा एक विकेट गुमाएको नेपालले २।३ ओभरमा ज्ञानेन्द्र मल्ललाई ११ रनमा गुमाउँदा नेपालको स्कोर १२ रन थियो ।
त्यसपछि ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी पनि दुई रनमै आउट भएपछि नेपाल थप दबाबमा पुगेको थियो । तर चौथो विकेटको लागि कप्तान पारस खड्का र सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गरे ।
पारस खड्का २९ रनमा आउट भएपछि विनोद भण्डारी आए । विनोद र सन्दीपले पाँचौ विकेटका लागि ३७ रनको साझेदारी पारी उकासेका थिए ।
यसअघि घरेलु युएईलाई हराएर एक दिवसीय सिरिज जितेको नेपालले टी–२० सिरिजसमेत जित्ने मौका आएको छ। यदि आजको खेलमा नेपालले जित निकाले क्रिकेटमा अर्को इतिहास रचिने भएको छ।