नारायणकाजी श्रेष्ठ भन्छन्ः पार्टी भागबण्डा नगरी राजदूत नियुक्तिमा साझा सूची बनाउ


काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूतमा सिफारिस पार्टीमा भागबण्डा नभई साझा व्यक्तिहरूलाई गर्न सुझाव दिएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले आज सामाजिक संजालमा आफ्नो प्रतिकृया दिदैं राजदूतमा सिफारिस राजनीतिक दलको भागबण्डा भन्दा पनि दक्षताका आधारमा साझा ब्यक्ति नियुक्त गर्दा उत्तम हुने बताएका हुन् ।

‘कम्तिमा पनि केही संख्या पार्टीहरूको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ’, उनले सामाजिकसंजालमा लेखेका छन् ।

नेता श्रेष्ठले ओलीको पालामा नियुक्त भएका राजदूतलाई एकैपटक फिर्ता बोलाएकोमा पनि गठबन्धनको बैठकमा असहमति जनाएको आफैले सार्वजनिक गरेका छन् ।

‘एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सकारको निर्णयलाई बेठीक भन्दै असहमति जनाएको थिए । मेरो धारणा यस्तो थियो र रहेको छ । संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यता विपरीत नियुक्त गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरूलाई मात्र फिर्ता बोलाउनु पर्दछ, सबैलाई एकमुष्टरूपमा होइन,’ सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि केपी शर्मा ओलीको पालामा राजनीतिक व्यक्तिहरूबाट नियुक्त सबै राजदूतलाई फिर्ता बोलाएका थिए । त्यसपछि अमेरिका, भारत र बेलायतका लागि तीन जनालाई राजदूतमा सिफारिस गरिएको थियो । भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिस गरिएको थियो । उनीहरूको संसदीय सुनुवाई प्रक्रिया सुरु भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार