
विराटनगर । प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको छ । प्रदेश १ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो ।
भीम आचार्यको नेतृत्व रहेका बेला प्रदेश पर्यटन बोर्डको उपाध्यक्ष फणिन्द्र अधिकारी नियुक्त गरेको थियो । शेरधन राई नेतृत्वको सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा यज्ञ शर्मालाई नियुक्त गरेको थियो ।
यसरी पूर्ववर्ती एमाले सरकारले कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै प्रदेशमा आलोचना भएपछि खारेज गर्ने निर्णय गरिएको बताइएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ। यो निर्णयसँगै उपाध्यक्ष फणिन्द्र अधिकारीसहित सबै सदस्य स्वतः पदमुक्त भएका छन्।
यसैगरी सोही बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तर्गत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठानसमेत खारेज गर्ने निर्णय गरेको छ।










