संसद बैठक स्थगित भएपनि संसद भवनभित्रै देउवा र ओलीबीच भेटवार्ता

 

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । आज बस्ने भनिएको संसद बैठक स्थगित भएपछि संसद भवनभित्रै प्रधानमन्त्री देउवा र ओली बीच छलफल भएको हो ।

छलफलमा देउवाको साथमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र काँग्रेस महामन्त्री गगन थापा सहभागी छन् भने एमालेबाट ओलीसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन् ।

संसदमा एमसीसी पेश भइसकेपछि त्यसलाई पास गर्ने बिषयमा प्रधानमन्त्री देउवाले विपक्षी एमालेको साथ खोजेको छन् ।

सत्ता गठबन्धनमा रहेका माओवादी, एकिकृत समाजवादी, जसपा, जनमोर्चा लगायतका दलले एमसीसीलाई संशोधन नगरी जस्ताको तस्तै पास गर्न नसकिने भनेपछि देउवाले एमालेको साथ खोजेका हुन् । एमसीसीको विपक्षमा सडकमा पनि चर्को आन्दोलन भइरहेको छ ।

आजदेखि एमसीसीबारे छलफल गर्ने भन्दै दिउँसो एक बजे बोलाइएको संसद बैठक अन्तिममा आएर देउवाकै आग्रहमा स्थगित गरिएपछि अहिले देउवा र ओली बीचको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

आजै बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि एमसीसीलाई लिएर छलफल भएको थियो । उक्त छलफल पनि विना निष्कर्ष सकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार