अब छाउपडी गोठमा बस्नेलाई सेवासुविधा नदिइने

बाजुरा । सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला बाजुरामा अबदेखि महिनावारी भएको बेलामा छाउगोठमा राख्ने परिवारलाई सरकारबाट दिने सेवा सुविधा नदिइने भएको छ ।

छाउगोठमा बस्ने किशोरी र महिलाहरुको अकालमा ज्यान जाने र यौन हिसा जस्ता घटनाहरु घट्न थालेपछि छोउगोठमा राख्ने त्यस्ता परिवारलाई स्थानिय सरकारले सेवा सुविधा नदिने भएको हो ।

छाउपडी कुप्रथाले समाज सधै पछि परेको र मान्छेको अकालमा ज्यान समेत गइरहेकाले यसलाई रोक्न र जनचेतना फैलाउन अहिले स्थानिय सरकारका जनप्रतिनिधीहरु नै जागरुक भएर यसको बिरुद्धमा लागिरहेका छन । जिल्लाको बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाश रावलले अबदेखि महिनावारी भएका बेला छाउगोठमा राख्ने त्यस्ता परिवारलाई सरकारबाट पाइने सेवा सुविधा नदिइने बताए ।
छाउपडी कुप्रथाका कारण अकालमै ज्यान जाने, यौनहिंसा खेप्नुपर्ने विभिन्न रोगहरुको संक्रमण हुने भएकाले महिनावारी भएका बेला गोठमा नराखेर घरभित्र सफा तरिकाले राख्न स्थानीयहरुलाई सूचना समेत गरिएको जानकारी दिए ।

वडाको आग्रह नमान्ने त्यस्ता परिवारलाई नगरपालीकाबाट पाइने कुनैपनि सेवा सुविधा नदिइने वडाध्यक्ष रावलले बताए ।
एक महिना अघि मात्रै बाजुराको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठमा आमा र दुई छोराको मृत्यु भएपछि जिल्लामा छाउपडी गोठ भत्काउने र यसबारे विभिन्न सचेतनाका कार्यक्रमहरु सुरु भएका छन ।

यद्यपी, महिनावारी भएका बेलामा घर भित्र पस्दा, पानी पधेंरामा जाँदा देउता रिसाउने भन्ने गलत परम्पराका कारण सुदूर तथा कर्णाली प्रदेशमा यो समस्या जटिल बन्दै आएको छ । देउताको भयका कारण पढे लेखेका शिक्षित परिवारमा पनि महिनावारीका भएका बखत घरभित्र पस्न नदिने, पानी पधेंरो छुन नदिने र पौष्टिक खाने कुरा समेत नदिने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार