काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा गेब्रेयसस आज काठमाडौं आइपुगेका हुन् ।
उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेललगायतका अधिकारीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत नेपाल आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयकाअनुसार डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले रात्रिभोजको आयोजना गरेका छन् ।
तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।
नेपाल भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन समेत गर्ने कार्यक्रम तय भएको छ ।