कंचनपुर । कंचनपुरमा प्रहरीले नै लुकाएर राखेको अवस्थामा साढे २३ किलो बढि सुन बरामद गरिएको छ । प्रहरीको टोलीले बिहीबार दिउँसो १८ किलो र राती ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा कैलाली प्रहरीमा कार्यरत सुरज तिरुवाले लुकाइराखेको अवस्थामा उक्त सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सहितको टोलीले बरामद गरेको हो ।
सुरजले उक्त सुनलाई आफ्नो ससुराली घर कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा लगेर लुकाएर राखेका थिए ।
बिशेष सुराकीका आधारमा प्रहरीको टोलीले कंचनपुरको शुक्लाफाँटा नगरपालिका ११ घर भएका सुरजका दाजु लक्ष्मण तिरुवालाई पक्राउ गरि १८ किलो सुन लुकाइ राखेको अवस्थामा बरामद गरेको थियो ।
लक्ष्मण भारतमा सवारी चालकको काम गर्दै आएको प्रहरीले बताएको छ । उनले सुन ल्याएर भाई सुरज तिरुवालाई राख्न दिएका थिए । सुनबारे लक्ष्मण र सुरजलाई सोधपुछ गर्दा बिहीबार राती थप सुन बरामद गर्न सफल भएको कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिए । उनका अनुसार बरामद गरिएको सुन जिल्ला प्रहरी कार्यालय कंचनपुरमा राखिएको छ ।