
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रलाई पागलहरुको प्रलाप भन्दै कडा टिप्पणी गरेका छन् ।
आज काठमाडौंमा मनमोहन अधिकारीको २३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप भनेका हुन् । ओलीले काँग्रेस घोषणा पत्रलाई कुनै राजनीतिक दस्तावेज नभई तथानाम गालीगलौच मात्रै भएको जिकिर समेत गरे ।
‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन । त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । त्यो पागलहरूको प्रलाप हो। मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन’, ओलीले भने ।
ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको प्रति आक्रोस पनि पोखे । घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेको भन्दै अध्यष ओलीले विरोध गरे। कांग्रेसले घोषणापत्रमा विकासका कुरा नै नगरेको ओलीले आरोप लगाए ।
लोकतन्त्रका लागि आफुलाई कांग्रेसको माया लाग्ने गरेको ओली भनाई छ । ‘कठैबरी ! माया लाग्छ कांग्रेसको, दया लाग्छ कांग्रेसको, कहाँ पुग्यो विचरा कांग्रेस ? लोकतन्त्रका लागि मात्रै मैले कांग्रेसप्रति दया देखाएको हो’, ओलीले भने ।










