काँग्रेसका बागी उम्मेदवारलाई फिर्ता लिन देउवाको हार्दिक अपिल

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन हार्दिक अपल गरेका छन् । उनले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई नै विजयी बनाउन सक्रियताका लागिपर्न समेत अपिल गरेका छन् ।

बागी उम्मेदवारी फिर्ता लिने म्याद भोली साँझसम्म मात्रै रहेको अवस्थामा प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो पार्टीका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका हुन् ।

‘देशभरका स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय ९२०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु’, देउवाले जारी गरेको अपीलमा भनिएको छ ।

पाँच वर्ष अगाडि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित राजनीतिक दल र जनप्रतिनिधिहरूको कार्यशैलीको समग्र मुल्याङ्कन गर्दै आगामी दिनमा थप योग्यता र निष्ठाको कसीमा खरो उत्रिने प्रतिवद्धताका साथ आफ्नो पार्टी र पार्टीले प्रस्तुत गरेका उम्मेदवारहरू र एजेण्डाको पक्षमा सुदृढ जनमत तयार गर्न सम्पूर्ण पार्टी पंक्ति लाई एकजुट भएर लाग्न निर्देशन समेत दिए ।

यहि वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगाएर बनेको सत्ता गठबन्धनले देशभरी आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने र साझ उम्मेदवार उठाउने निर्णय गरेको थियो ।

तर स्थानिय तहमा केन्द्रको निर्णय उल्टिएको छ । कतिपय ठाउँमा काँग्रेस र एमालेले सत्ता गठबन्धनवाहेकका दलसंग चुनावी तालमेल गरेको भन्दै आफ्नै पार्टीका स्थानिय नेता तथा कार्यकर्तामाथि कारवाही गरेको छ ।

जारी विज्ञप्ति पढौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार