
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थल बन्द गरेर सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै स्थानमा जाँच गर्दा बम जस्तो शंकास्पद कुनै पनि वस्तु नभेटिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
बम रहेको हल्ला फैलिएपछि विमानस्थलमा हंगामा नै मच्चिएको थियो । बम रहेको हल्लाले गन्तव्यमा जान विमानस्थल पुगेका यात्रुहरुमा एकाएक त्रास उत्पन्न भएको काठमाडौंबाट धनगढी जान लागेका यात्रु लोकेन्द्र बहादुर खड्काले अनमोलपोस्टलाई बताए । यात्रुहरुलाई अनावश्यक दुख दिनु विमानस्थलको पनि कमजोरी भएको उनको भनाई छ ।
आज बिहान करिब साढे १० बजेतीर विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर बस्ने कार्यालयमा पाकिस्तानी नम्बरबाट फोन आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । सिटौलाका अनुसार फोन गर्ने व्यक्तिले कार्यालय आसपास ६ वटा बम राखिएको र ति एक घण्टा भित्र पड्किने बताएका थिए । विमानस्थल कार्यालयकाअनुसार अहिले यात्रुलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ ।










