
चितवन । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताएका छन् ।
आज चितवनको भरतपुरमा आयोजित सत्ता गबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनमा सामेल जसपाका नेता श्रेष्ठले कतिपय मानिसहरु ओलीको भ्रममा रहेको समेत बताए ।
‘कतिपय मानिसहरु, कतिपय युवाहरु भ्रममा छन्, उनिहरु आइ लभ यु केपी बा भन्छन् । तपाईहरुलाई थाहा छ ?,सर्पले दुध खाएपनि विष लाग्छ, ओलीले म्वाई खाएपनि विष लाग्छ, नेता श्रेष्ठले भने ।
प्रतिगमन, लोकतन्त्र र संघीयताविरोधी जहर ओलीले फैलाएको समेत उनले आरोप लगाए । संविधान, लोकतन्त्र र संघीयता बचाउनका लागि आफुहरुले गठबन्धन बनाएको उनको भनाई छ ।
चितवनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्दै नेता श्रेष्ठले ५ वर्षमा भरतपुरको विकास हेर्दा रेनु दाहालको नेतृत्वमा विकासमा कायापलट हुन्छ भन्ने पुष्टि भएको बताए ।
आफ्नो संवोधनमा एमाले अध्यक्ष ओलीप्रति कडारुपमा प्रस्तुत भएका नेता श्रेष्ठले ओलीले संविधान, लोकतन्त्र र संघीयता खान खोजेको आरोप लगाए । ओलीले सत्तामा हुँदा जनतालाई घर घरमा खाना पकाउने ग्यास पाइप, रेल, पानी जहाज जस्ता झुटा कुरा गरेर भ्रमको राजनीति गरेको उनको भनाई छ ।










