काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणका लागि वैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान समितिको दलित विभागले राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।
आगामी फागुन ११ गते बिजुलीबजार काठमाडौंमा हुने एकदिने भेलामा देशभरीबाट एक सय बढी प्रतिनिधीहरुको सहभागिता रहने दलित विभागका संयोजक राजकुमार हिङ्माङले जानकारी दिए ।
दलित विभागको राष्ट्रिय भेला सकिए लगत्तै फागुन महिनाभित्रै महिला, बिधार्थी, किसान लगायतका अन्य विभागहरुको समेत राष्ट्रिय भेला हुने विभागका संयोजक हिङ्माङले बताए ।
पार्टीको सम्पर्क कार्यालय अनामनगरमा बुधबार भेलाबारे पत्रकारहरुलाई जानकारी दिदै विभागका संयोजक हिङ्माङले भने, “पुँजीवादी राजनीतिले नेपाली समाजमा रहेका उत्पीडित बर्ग, समुदाय र राष्ट्रका समस्या जिउँका तिउँ रहेकाले हामी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी निर्माणको महाअभियान छौं।”
पत्रकार भेटभाटमा कार्यक्रममा जारि गरिएको प्रेस वक्तव्यमा दलित आन्दोलनको इतिहास र संघर्षबारे उल्लेख गर्दै लेखिएको, “नेपाली समाज प्रगतीशिल पुँजीवादमा प्रवेश नगरी सिधैं दलाल पुँजीवादमा पतन भएको र विश्वसाम्राज्यवादले प्रत्यक्ष हैकम जमाइरहेका कारण दक्षिण एसियामा विकसिल वर्णव्यवस्थालाई व्यवस्थित गर्न दलाल पुँजीवादले समेत निर्वाह गर्दै आएको छ । जसलाई विश्व सम्राज्यवादी हर्कतले समेत टेवा पुर्याइरहेको छ ।”
तत्कालिन माओवादी केन्द्रबाट अलग भई छुट्टै राजनीतिक पार्टीको निर्माणमा जुटेका पुर्व संविधानसभा सदस्य तथा लोकपृय साहित्यकार विश्वभक्त दुलाल आहुती लगायतका नेताहरु अहिले “वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल” नामक राजनीतिक पार्टीको निर्माणको अभियानमा छन् ।