
काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उनि अन्य चार जनासहित उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागका हुन् ।
प्रधानमन्त्री शाहसंगै उनका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्य पनि भ्रमण टोलीमा छन् । प्रधानमन्त्री शाह आज दिउँसो ४ः१५ बजे कतार एयरवेजको जहाजमार्फत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकातर्फ प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । तर, विश्वको शक्तीशाली मंचमा प्रधानमन्त्री शाहले कस्तो भाषण गर्नेछन् र कस्तो ड्रेसअपमा देखिने छन् भन्ने धेरैको चासो छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री भएपछि प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो । महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका पुगिसकेका छन् ।











