
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल अत्याधिक मतले विजयी भएकी छन् । सम्पन्न मतगणनाको नजिताअनुसार रेनुले ५२ हजार ३० मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतको फराकिलो अन्तरले पछार्दै विजयी भएकी छन् । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी रेनु २०७४ मा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर बनेकी थिइन् ।
त्यस्तै नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।
उपमेयर नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराए । हिमलाले ३० हजार ६१२ मत पाएी छन्।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका र एमाले र राप्रपा गठबन्धन तालमेल गर्दै चुनावमा होमिएका थिए।
मतपरिणमअनुसार भरतपुर महानगरका २९ वडामध्ये कांग्रेसले १६ वटा वडा जितेको छ । जसमा वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भए भने वडा न. ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडाध्यक्ष एमालेले जित्यो।
माओवादी केन्द्रले १३, २४ र २६ मा वडाध्यक्ष जित्यो भने एकीकृत समाजवादीले ७, ९ र २२ मा वडाध्यक्षमा विजयी भयो। त्यस्तै स्वतन्त्र उम्मेदवारवडा २५ जितेका छन् । यस पटकको स्थानिय तह निर्वाचनमा भरतपुर निकै चर्चामा रहेको थियो ।










