
काठमाडौं । संघीय सांसद दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन्। आज प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी पौडेलले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी हुन् ।
‘एकपल्ट बलात्कृत भएपछि महिलाको सम्पूर्ण जीवन बर्बाद हुन्छ, त्यसकारण बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ । उनीहरुको तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाह गर्ने दात्यित्व सरकारको हुनुपर्छ, उनले भनिन् ।
सांसद पौडेलले महिलामाथिको बलात्कार हिंसाको कारबाहीलाई छिटो टुंग्याउन फास्ट ट्रयाक अदालत गठन गर्नुपर्नेमा समेत जोड दिएकी छन् । उनले उत्पीडित महिलाहरुलाई सहयोग र संरक्षणका लागि सरकारले महिला सहायता कोष निर्माण गर्नुपर्ने पनि बताइन्।
सत्ता गठबन्धनको साझेदार दल जनमोर्चाकी उपाध्यक्ष पौडेलले संविधानले समाजवाद उन्मुख राज्य बनाउने भने पनि सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले त्यस खालको ठोस कार्यक्रम ल्याउन नसकेको गुनासो बताइन्।
उनले संघीयता र प्रादेशिक संरचनाका कारण मुलुकको ठूलो धनराशी खर्च भइरहेकाले त्यसलाई खारेज गर्नुपर्नेको उनको भनाई छ ।












