
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गर्ने पूर्व योजना नै भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठक समापन पछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री हेरफेर गर्ने नियमित प्रक्रिया भएको बताएका हुन् ।
‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिनाका लागि भनेर भनेका थियौं,’ अध्यक्ष नेपालले पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै भने, ‘सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो। यो नियमित प्रतिक्रिया हो।’
समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको छ। पार्टीले नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि सिफारिस गरेको छ।
त्यस्तै हीरा केसीलाई भने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिस गरेको छ ।










