
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव अलग हुने भएका छन् । दुबै जनाबीच विवाद चर्किए पछि बुधबार सिंहदरबार छलफल गरेर सहमतीमै अलग हुने भएका हुन् ।
छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने धारणा राखेका थिए । उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए । त्यसमा यादवले सहमति जनाएको जसपा स्रोतले बताएको छ ।
भट्टराईले तत्कालीन नयाँ शक्ति लिएर जसरी संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए, त्यसरी नै अलग हुने धारणा यादव समक्ष राखेका थिए । अध्यक्ष भट्टराईसँग कोको जाने भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । त्यो कुरा बाबुरामले पनि यादवसँगको भेटमा विस्तृतमा खुलाएका छैनन् ।











