काँग्रेस नेता पोखरेलको सरकारलाई प्रश्न– अहिले हतियार खरिद गर्ने बेला हो ?

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेलले सरकारले हतियार खरिद गरिरहेको भन्ने बिषयमा विरोध जनाएका छन् । देश आर्थिक संकट उन्मुख रहेका बेला नेता पोखरेलले यो हतियार खरिद गर्ने बेला हो भन्दै आफ्नै पार्टी नेतृत्वमा रहेको सरकारलाई प्रश्न गरेका छन् ।

काँग्रेसको केन्द्रीय कार्यसममिति बैठकमा बोल्दै उनले भने, ‘सरकारले महँगा हातहतियारदेखि हेलिकप्टर समेत खरिद गर्दै छ भन्ने समाचार प्रकाशित भएका छन्, विदेशी मुद्रा सञ्चितिको यस्तो अवस्थामा के अहिले यस्ता सामग्रीहरू खरिद गर्ने बेला हो ?’

फजुल खर्च नियन्त्रण गर्दै देशको आर्थिक अवस्था सुधारमा जोड उनले दिएका छन् ।

उनले काँग्रेसका सरकारहरु र जनप्रतिनिधिहरु भएका ठाँउमा बजेट बनाउँदा र खर्च गर्दा आर्थिक गतिविधि बढाउने आयोजनाहरुमा मात्र खर्च गर्न र फजुल खर्च नगर्न केन्द्रीय समितिबाटै निर्देशन दिन माग समेत गरेका छन् । नेता पोखरेलले काँग्रेसले देश र जनताको दीर्घकालीन हितका लागि फजुल खर्च रोक्नुपर्नेमा जोड दिए ।

सरकारले प्रदेश सरकारहरुसँग समन्वय गरी देशको आर्थिक अवस्था नसुध्रिदासम्म स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने अनावश्यक सुविधाहरुमा कटौती गर्नुपर्ने समेत उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार