
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । आज दिउँसो संसदमा भएको मतदानमा सत्ता पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसाल निर्वाचित भएकी हुन् । उनले १४८ मत पाएकी छन् भने उनकी प्रतिस्पर्धी एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् । मतदानमा एक जना तटस्थ बसेका थिए ।
उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल संसदमा २ सय ७१ सांसदहरु छन् । जसको बहुमत १ सय ३६ हो । आज भएको निर्वाचनमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा तटस्थ बस्यो।
संसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन् । एमालेको पक्षमा भने ९८ सांसद मात्रै छन् । त्यसमा पनि सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा संलग्न छन् ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली थियो ।










