
काठमाडौं । संसदबाट पारित भएको नागरिकता विधेयकप्रति नेकपा माओवादी केन्द्रले असन्तुष्टी जनाएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकासले आज सामाजिकसंजाल फेसबुकमार्फतमा प्रतिकृया लेख्दै पारित नागरिकता विधेयकबारे असन्तुष्टी जनाएका हुन् ।
उनले गठबन्धनको नाममा नेपाली कांग्रेसको बलजफ्ती गरेको समेत आरोप लगाएका छन् ।
नागरिकता विधेयक, अमेरिकी सहयोग परियोजना (एमसीसी) र अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा माओवादी केन्द्रले पार्टीको अडान विपरीत कांग्रेसलाई साथ दिएको भन्दै नेता श्रेष्ठले गठबन्धनको नाममा सधैं बलजफ्ती स्वीकार्न नसक्ने बताए ।
नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्, हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरुमा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’
नागरिकता विधेयकमा माओवादीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनुर्ने भन्दै अडान राखेको थियो । तर, विधेयक पारितको प्रक्रिया गलतरुपमा भएको उनको भनाई छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधानसहित विधेयक बहुमतले पारित गरेको भन्दै नेता श्रेष्ठले सरकारले उक्त विधेयक फिर्ता लिएर त्यतिबेला अल्पमतमा परेको विषय उठाएर पारित गर्नु गलत भएको बताए ।
नागरिकता ऐन संशोधनमा ढिलाइ भए पनि सरकारले गलत प्रक्रिया अपनाएको उनले बताए । ‘सरकारले या त संसदभित्र सहमति कायम गरेर त्यसको आधारमा अघि बढाउनुपर्थ्यो या सम्बन्धित समितिले २ बर्ष लगाएर पठाएको प्रतिवेदन नै छलफल एवं निर्णय प्रक्रियामा लैजानु पर्दथ्यो’ श्रेष्ठले स्टाटसमा उल्लेख गरेका छन्।
नेता श्रेष्ठले माओवादी केन्द्रले एमसीसीलाई राष्ट्रिय हित अनुरुप नठान्ने भन्दै गठबन्धन सरकारको कारणले बाध्यात्मक रुपमा १२ बुँदे ब्याख्यात्मक घोषणा सहित अनुमोदन गरेको समेत प्रष्ट पारेका छन् । नागरिकता विधेयकमा पनि संसदको राज्य व्यवस्था समितिको धारणा नै माओवादी केन्द्रको धारणा भएको उनले बताएका छन् ।












