
काठमाठौं । नागरिकतामा निकै अपमानजनक ढंगले नाम उल्लेख गरिएको बिषय अहिले निकै चर्चामा रहेको छ । नागरिकताको प्रमाणपत्रमा कुकुर कामी, कुकुर्नी कमिनी लगायतका निकै अपमानजन्य नाम र थरहरु राखिएको भन्दै चर्को आलोचना समेत भइरहेको छ । आज बसेको राष्ट्रियसभा बैठकमा समेत यस बिषयमा सांसदहरुले कडारुपमा राज्यलाई प्रश्न गरेका छन् ।
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले नागरिकतामा त्यसरी घोर अपमान हुनेगरी नागरिकता दिने कर्मचारीको हात नै भाँच्नुपर्ने बताए ।
उनले विभिन्न जिल्लाका नागरिकहरुलाई नागरिकता दिने क्रममा पशुको जस्तै व्यवहार गरेर राखिएका नामहरू तत्कल सच्याउन माग समेत गरेका छन् । पशुतुल्य ढंगले नागरिकतामा नाम राखिएकाले त्यस्तो नाम राखेर नागरिकता जारी गर्ने कर्मचरी र हाकिमको हात किन नकाट्ने भन्दै अक्रोष ब्यक्त गरेका हुन् ।
सांसद सुनारले भने, ‘मान्छेले मान्छेलाई कति विधिसम्म अपमान गर्दोरहेछ र गर्दै आइरहेको रहेछ भन्ने केही जिल्लाको नमूना तथ्य प्रस्तुत गर्छु, ‘दैलेखको दुल्लु नगरपालिका- १ निवासी कुलबहादुर वादीको नागरिकताको नामा फ्याउरे वादी । मान्छेलाई फ्याउरेवादी नाम राखेर नागरिकता दिने हाकिम मेघनाथ पाध्य ।’
दैलेखकै नारायण नगरपालिका १० का ६५ बर्षे नागरिकको नागरिकताको नाम सिंगाने कामी । सिंगाने कामी नाम राखेर नागरिकता दिने सरकारी कर्मचारी को हो ? उनले प्रश्न गरे ।
त्यस्तै सांसद सुनारले तेस्रो प्रमाणका रुपमा रुकुमका कुत्ता वादी भनेर दिइएको नागरिकताबारे बताए । रुकुमपश्चिम आठविस नगरपालिका -३ का ६१ वर्षका मानिसको नाम कुत्ता वादी र नागरिकता दिने त्यो बेलाका हाकिम दयाराम शर्मा भएको उनले बताए । त्यस्तै दैलेखको मेघलटोली गाउँ पञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा बनेको एक नागरिकको नागरिकताको नाम कुकुर कामी रहेको प्रमाण दिए ।
जसका परिवारले कविराम कामी भन्दाभन्दै कुकुर कामी भनेर लेखिदिएको उनले बताए । त्यस्तै बागलुङ ताराखोला गाउँपालिका -४ का हस्तबहादुर कामीको श्रीमती सावित्रीको नाम कुकुर्नी कमिनी राखिएको भन्दै सांसद सुनारले आक्रोश पोखे ।
यसरी अपमानढंगले नागरिकता वितरण गर्ने कर्मचारीमाथि कारवाही गरी तत्काल त्यस्ता नागरिकता सच्याउन उनले गृहमन्त्रालयलाई अनुरोध समेत गरे ।
‘यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ रु ती हाकिमहरू, फटाहाहरु एकथरी मानिसलाई कति घृणा गर्न उद्यत हुँदारहेछन, नागरिकता लिन जाँदा केरकार र सोधखोज गर्छन् । तर ती दूरदराजका जनताको नाम त्यस्तो लेख्न मिल्छ ? त्यसरी अपमानपूर्वक नागरिकतामा सहि गर्ने हाकिमको हात भाँच्नुपर्छ कि पर्दैन ? यसको जिम्मेवार को ? यस्ता नागरिकता तत्काल सच्याउन म गृहमन्त्रालयलाई अनुरोध गर्दछु,सुनारले भने।
यस बिषयमा सांसद सुनारले राष्ट्रिय दलित आयोग र दलित सम्बन्धी संघ–संस्थाले पनि खोजतलास गर्न नसकेकोप्रति गुनासो गरे । उनले विभिन्न बहानामा नियमले मिल्दैन भनिन्छ भने ती ऐन सबै च्यात्नुपर्ने समेत बताए ।










