परराष्ट्रमन्त्री आज चीन जाँदै, भ्रमणको उदेश्य यस्तो


काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री खड्का चीनको तीनदिने भ्रमणमा जान लागेका परराष्ट्रले जनाएको छ। खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर, भूराजनीतिक उथलपुथलबीच परराष्ट्र मन्त्री खड्काको यस चीन भ्रमणलाई विभिन्न कोणबाट हेरिएको छ ।
चीनमा रहँदा मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भोली चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ ।

एक बर्षअघि पाँच दलिय गठबन्धन सरकरको कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेपछि सरकातर्फबाट पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले परराष्ट्रमन्त्रीको चीन भ्रमणका दौरान दुई मुलुकबीचका विद्यमान विषयमा छलफल हुने बताए ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई नेपालको संसदले पारीत गरेसंगै चीनले नेपालप्रती निकै चासो बढाएको देखिन्छ । गत वर्ष फागुन १५ मा संसद्बाट एमसीसी अनुमोदन भएको थियो । एमसीसी अनुमोदन भएको एक महिना नबित्दै २०७८ चैत ११ देखि १३ गतेसम्म चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपालको भ्रमण गरेका थिए ।

त्यसपछि असार २६–२९ मा नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओले पछिल्लो समय नेपालमा चीनविरोधी गतिविधि बढेको अभिव्यक्ति दिएका थिए । लगत्तै नेपाली पक्षले ‘एक चीन’ नीतिमा प्रतिबद्ध रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेको थियो ।

ताइवानलाई लिएर अमेरिका र चीनबीच विवाद बढिरहेका बेला नेपाल सरकारबाट उच्च तहको चीन भ्रमण हुनु आफैमा महत्वपुर्ण मानिएको राजनीतिक विश्लेषण गरिन थालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार