काठमाडौं । नेकपा (एमाले) का नेता खगराज अधिकारीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेले दुई तिहाई सिट नजिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् । केपी ओली नेतृत्वको सरकारमा पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले चुनावमा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दावी गरेका छन् ।
आज काठमाडौमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता अधिकारीले आगामी चुनावमा एमालेले दुई तिहाइ नल्याए आफु राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गरेका हुन्। उनले काँग्रेस एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेकाले गठबन्धनको सहयोग लिइरहेको बताए ।
‘एक्लाएक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा बढि सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु’, नेता अधिकारीले घोषणा गरे ।
उनले पार्टीको अर्थ विभागमा रहेको एम अधिकारी नाम वहालवाला गभर्नर महाप्रसाद अधिकारी नभएको दावी पनि गरे ।
अहिलेको सरकारका कारण देश जटिल अवस्थामा पुगेको दावी गर्दै नेता अधिकारीले जनता महँगीको मारमा परेको बताए। उनले संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्नेमा जोड पनि दिए ।










