
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेट भएको छ। आज बिहान सभामुखको सरकारी निवास लैनचौर पुगेर राजदूत यान्छीले सापकोटासंग भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको सापकोटाले सचिवालयले जनाएको छ।
भेटवार्तामा सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको प्रशंसा गरेका थिए ।
सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको समेत बताए का छन्। उनले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।
त्यस्तै भेटमा राजदूत यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरेकी छन्। उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको समेत बताइन् ।
सभामुखको सचिवालयद्धारा जारी विज्ञप्ती











