
काठमाडौं । पूर्वसंचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको पार्टी सभापति लामिछानेले जानकारी दिए । सामाजिकसंजालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले प्रतिनिधि सभाको निर्वाचनमा मात्रै आफ्नो पार्टीले भाग लिने बताएका छन् ।
‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ’, सभापति लामिछानेले भिडियो सन्देशमा भनेका छन् ।
यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले जिकिर छ ।
‘यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन। प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं’, उनले बताएका छन् । संचारकर्म छोडेर हालै नयां पार्टी गठन गरेका लामिछाने पार्टीको प्रचारका क्रममा देश दौडाहामा छन् ।








