
काठमाडौं । सरकारले आजदेखि पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ ।
वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्दै प्रतिबन्द गरेको हो ।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो । तर, त्यही महिना भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन । सरकारको उक्त नियम लागु गर्ने क्रममा मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने जनाएको छ भने त्यसपछि त्यस्ता झोला धेरै प्रयोग हुने क्षेत्रहरूमा अनुगमन गर्नेछ ।
सरकारअनुसार त्यस्ता पातला प्लास्टिकको झोला बिक्री र प्रयोग गरेको भेटिए प्रहरी परिचालन गरी तत्काल कारबाही गर्ने मन्त्रालयले जनाएके छ ।
गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिए लगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो ।









