
काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले समाज र देशमा परिर्बतन ल्याउनमा अहम भुमिका खेल्ने माओवादी जनयुद्धलाई बिर्सन नहुने बताएका छन् । आज प्रतिनिधिसभामा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्नुअघि नेमकिपा सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री कोइरालाले माओवादी सशस्त्र जनयुद्धले देशमा गणतन्त्र र नयाँ संविधान ल्याएको बताएका हुन् ।
समाजमा कुकुरको पूजा गर्ने तर, मानिसले छोएको खान नहुने जस्ता सामाजिक कुप्रथा पनि माओवादी जनयुद्धकै कारण कम भएको यर्थात नबिर्सन मन्त्री कोइरालाले आग्रह समेत गरे । माओवादी सशस्त्र जनयुद्धकै कारण दुरदराजका जनतामा पनि आफ्नो हक अधिकारसंगै राजनीतिक चेतना आएको उनको भनाई थियो ।
‘समाजमा असमानता थियो । हामी कुकुरको पूजा गथ्र्यौ, तर मान्छेलाई हामी छुदैनथ्यौँ । उनीहरुले छोएको खाना हामीले खाने त परै जावस्, उनीहरुको घरतिर दाहिने नपरोस् भनेर देब्रे पारेर हिँड्ने समाज थियो । विभिन्न समुदायमा भाषाका कारणबाट, भौगोलिक कारणबाट, लिङ्गको कारणबाट समाजमा यति चरम विकृति विसंगति थियो, एउटा राजनीतिक परिवर्तनको आवाज उठ्यो त्यसपछि त्यसले युद्धको रुप लियो ।, शान्ति सम्झौता भयो र हामीसँग संविधान आयो । माननीय ज्यूले सोध्नुभएको प्रश्नको जवाफ नेपालको संविधानको प्रस्तावनामै उल्लेख छ । त्यसकारण युद्ध केका लागि थियो भनेर संविधानमै प्रष्ट लेखिएको छ’, मन्त्री कोइरालाले भने।
सांसद सुवालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न संसदमा दर्ता भएको विधेयक प्रस्तुत नगर्न भन्दै विरोधको सूचना दर्ता गराएका थिए । सुवालले सशस्त्र जनयुद्धको लक्ष्य के थियो भन्ने प्रश्न गरेका थिए । यस्तै उनले पीडकलाई उन्मुक्ति दिने मनसायसहित विधेयक ल्याइएको भन्दै विरोध जनाएका थिए ।
जवाफमा कानुनमन्त्री कोइरालाले वर्षौंसम्म आयोग र त्यसका पदाधिकारीलाई पालेर राख्न नसक्ने भएकाले संक्रमणकालीन न्यायलाई टुंग्याउन ऐनमा संशोधन गर्न लागिएको बताए ।












