
चितवन । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई जिल्ला निर्वाचन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ।
लामिछानेको नेपाली नागरिकता कायम नरहेको भन्दै आयोगमा परेको उजुरीका आधारमा उनलाई स्पष्टीकरण सोधिएको हो।
उम्मेदवार लामिछानेले पहिला नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएको र त्यो पनि त्यागेपछि नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए । सोही उजुरीका विषयमा उनलाईलाई ७ दिनभित्र जवाफ पठाउन स्पष्टीकरणमा भनिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
लामिछानेलाई सोधिएको स्पष्टीकरणमा उजुरीकर्ताले दिएका केही प्रमाणसमेत संलग्न गरी पठाइएको छ । लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गर्दा र उम्मेदवारी दर्ता गर्दा अमेरिकी नागरिकता लिएपछि खारेज भएको नेपाली नागरिकता पेश गरेको दावी उजुरीमा छ । उनले पुनः नागरिकता कायम गराउन आवश्यक प्रक्रिया पूरा नगरेको उजुरीमा उल्लेख छ ।











