काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताले गठबन्धनका उम्मेदवारलाई नै मत दिएर बिजयी गराउने दाबी गरेका छन् । आफूले मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साहीत बनाएको भन्दै उनले जनताले गठबन्धनका उम्मेदवारलाइ नै बिजयी गराउने दाबी गरेका हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं.८ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठले मतदातहरुसँग भएको भेटघाटमा आफुले राम्रो प्रतिक्रिया पाएको समेत बताएका छन् । उनले जनताले लोकतन्त्रका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने दावी गरे । बाम–लोकतान्त्रिक गठबन्धनले जनताको चाहना अनुसार मुलुकमा स्थिरता, सुशासन र संवृद्धि हासिल गर्ने पनि मन्त्री श्रेष्ठले बताएका छन् ।
काठमाडौं क्षेत्र नं. ८ संस्कृति र संपदाको राजधानी भएको चर्चा गर्दै उनले पर्यटकीय केन्द्रको रुपमा आफ्नो क्षेत्रलाई विकास गर्ने योजना रहेको बताए ।
श्रेष्ठसँगै गठबन्धनका साझा उम्मेदवारहरु अहिले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटमा व्यस्त रहेका छन् ।