काठमाडौँ । आज मार्च ८ अर्थात् फागुन २४, १०९ औं अन्तराष्ट्रिय महिला दिवस । देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइदैं छ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेकी छन् । उनले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।
संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमको समेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्ने सन्देश दिएकी छन् ।
भण्डारीले विज्ञप्ती मार्फत ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको उल्लेख छ ।
साथै उनले सबै महिलाले आजको दिन आ-आफ्नो क्षेत्र र ठाउँमा भव्यताका साथ कार्यक्रम गरेर मनाउन पनि आग्रह गरेकी छन् ।