काठमाडौ । धरानका मेयर हर्क साम्पाङले सामाजिकसंजालमा प्रयोग गरेको “चमारे” शब्द फिर्ता लिंदै माफ मागेका छन् । उनले आज आफ्नो फेसबुक स्टाटसमा उक्त चमारे शब्द फिर्ता लिंदै माफ मागेका हुन् । उनले विज्ञप्ति निकालेर दलित समुदायलाई आफुले प्रयोग गरेको शब्दले परेको असरप्रति दुख ब्यक्त गर्दै क्षमा मागेका छन् ।
मेयर साम्पाङले चारदिन अघि आफ्नो फेसबुक स्टाटसमा “जोडी खोज्नेहरुको बास उठ्न सक्छ ! बल होइन बुद्धि लगा चमारे बुद्धि”, लेखेका थिए । स्टाटसमा प्रयोग गरिएको चमारे शब्दप्रति दलित समुदायले घोर आपत्ति जनाउँदै कारवाहीको माग गरेका छन् ।
“मिति २०७९-८-२८ मा मेरो फेस्बुक फेजमा मैले पोष्ट गरेको स्टेटसमा गाउँले ठट्यौली उखानको शैलीमा “चमारे” शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुस्ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुस्खी बनाएको रहेछ ! त्यस्का लागि यो शब्द फिर्ता लिंदै संधै समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति, विसंगति, वेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो ईतिहाँस रहेको सवैमा जानकारी गराउँदछु ! कसैलाई ठेस पुराउने नियतवश यो स्टेटस पोष्ट नगरेको जानकारी गराउँदछु”, उनले स्टाटसमा लेखेका छन् ।
दलित समुदायलाई हेला गर्दा, होच्याउँदा, गाली गर्दा ‘चमारे, डुम, कुजात’ जस्ता शब्दहरु प्रयोग गरिएको पाइएकाले मेयर साम्पाङले पनि चमारे शब्द प्रयोग गरेर दलित समुदायको अपमान गरेको भन्दै उनको विरोध भइरहेको हो । सविधान र कानुनले पनि यस्ता विभेदजन्य र अपमानित शब्द प्रयोग गर्नमा बन्देज लगाएको अवस्थामा जनप्रतिनिधिले नै त्यस्ता कार्य गरेकाले सजायको भागिदार हुनुपर्ने दलित समुदायको ठहर छ ।
मेयर साम्पाङले प्रयोग गरेको चमारे शब्दप्रति दलित आयोगले पनि आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै कारवाहीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । एक जनप्रतिनिधिले नै सिंगो दलित समुदायको मानमर्दन र अपमान हुनेगरी सार्वजनिक रुपमा विभेदजन्य शब्द प्रयोग गरेकाले उनलाई कारवाही हुनुपर्ने आयोगको भनाई छ ।
मेयर साम्पाङले सामाजिक संजालमार्फत दलित समुदायलाई होच्याउँदै विभेदजन्य कार्य गरेकाले उनलाई कानुन अनुसार कारवाही हुनुपर्ने भन्दै विभिन्न दलित तथा मानवअधिकारवादी संघसंस्थाहरुले पनि जोडदार माग गरिरहेका छन् । तर, मेयर साम्पाङले आफुले कसैलाई होच्याउने नियत राखेर स्टाटस नलेखेको दावी गरिरहेका छन् । मेयर साम्पाङले प्रयोग गरेको चमारे शब्दप्रति व्यापक विरोध हुन थालेपछि उनले जवाफमा उल्टै दलित आयोग नै खारेज हुनुपर्ने सम्मको स्टाटस लेख्न भ्याएका छन् ।
नेपाली समाजमा अझै पनि दलित समुदायले विभेद तथा छुवाछूत जस्तो अमानिय ब्यवहार सहंदै आएको अवस्थालाई मेयर साम्पाङले बेवास्ता गरिरहेको भन्दै राजनीतिकर्मी, दलित नेता, अगुवा तथा मानवअधिकारकर्मीहरुले दुख समेत ब्यक्त गरेका छन् ।
हर्क साम्पाङले माफ माग्दै निकालेको विज्ञप्ति