
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाप्रति दुख व्यक्त गरेका छन् । सामाजिसंजालमार्फत उनले प्रेमको आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको समेत फेसबुक स्टाटसमा लेखेका छन् । प्रेमको आत्मदाहको घटनामा सबै दोषी रहेको समेत उनको भनाई छ ।
‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु’, गृहमन्त्री लामिछानेले स्टाटसमा लेखेका छन् ।
आचार्यले मृत्यु हुनुअघि लेखेको नोटमा लामिछानेसहित नयाँ सांसदहरुलाई सम्बोधन गरेर ‘कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’ भनेका थिए।
लामिछानेकै पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा। तोशिमा कार्की मंगलबार साँझ अस्पताल पुगेका बेला पनि उनले लामिछानेलाई आफ्नो बारे भनिदिनु भनेका थिए।
प्रेमले हिजो नयां बानेश्वरस्थित संसद भवनकोअघि सडकमा आफ्नो शरिरमा पेट्रोल छरेर आगो लगाएका थिए । जलेर गम्भिर घाइते उनलाई उपचारका लागि कृतीपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको थियो ।
गृहमन्त्री लामिछानेले लेखेको स्टाटस यस्तो छः
“एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।”











