
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शिक्षामन्त्री खनालको राजीनामा माग गर्दै शुक्रबार बिहान प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पस अगाडि अनेरास्ववियूका विद्यार्थी नेताहरूले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।
उनीहरूले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् । त्यस्तै उनले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णयले विद्यार्थीलाई मार पर्ने बताएका छन् ।
निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने विद्यार्थी नेताको तर्क छ ।
विद्यार्थी नेताहरुले जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झालाई अनुसन्धान गरेर कारबाही गर्नु र व्यवस्थालाई सुधार गर्नुको ठाउँमा निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खाने खेल रचेको आरोप लगाए ।












