जातीयताबारे उठेको प्रश्नमा शिक्षामन्त्रीले देखाएको ब्यवहारप्रति प्रधानमन्त्री मौन किन ? – काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जातीयताबारे उठेको प्रश्नमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको व्यवहारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको मौनताले गम्भीर प्रश्न उठाएको बताएका छन् ।

हालै काठमाडौको बबरमहलमा दलित भन्दै कोठा भाडामा नदिने घरबेटी फक्राउ परेपछि मन्त्री श्रेष्ठले उनलाई छुटाएर ल्याएको घटनामा प्रधानमन्त्री मौन बसेको भन्दै उनले आपत्ति समेत जनाए ।

उक्त घटनाबारे शुक्रबार प्रतिकृया दिदैं प्रवक्ता शर्माले “जातिय विभेदको सवालमा राज्य कहाँ उभिनुपर्ने हो ?,” भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन् ।

“दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन । नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौं, तर संविधान अनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन”, शर्माले भनेका छन् ।

उक्त घटनाबारे प्रधानमन्त्रीलाई चार वटा प्रश्न गर्दै प्रवक्ता शर्माले हालै काठमाडौंको बबरमहलमा जातका आधारमा कोठा भाडामा नदिएको घटनामा सरकारको मन्त्रीले देखाएको ब्यवहारबारे जवाफ मागेका हुन् ।

“तपाईंको मन्त्रिमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ”, उनले भने ।

केहि दिनअघि काठमाडौं बबरमहलकी सरस्वती प्रधानले संचारकर्मी रुपा सुनारलाई दलित भन्दै कोठा भाडामा नदिदा उनि पक्राउ परेकी थिइन् । प्रधानमाथि अुनसंन्धान भइरहेका बेला मन्त्री श्रेष्ठले उनलाई आफ्नै झण्डावाल गाडीमा राखेर थुनाबाट छुटाएर घर पुर्याएका थिए । जसको अहिले चौतर्फी विरोध भइरहेको छ ।

जातिय विभेद तथा छुवाछूतको मुद्धा गम्भिर अपराधमा मानिने भएकाले यसलाई नेपालको कानुनले सरकारवादी मुद्धामा राखेको छ । तर, सरकारकै मन्त्रीले घटनाको अनुसंन्धान भाँड्दै आरोपितलाई थुनामुक्त गरेका थिए ।

घटनाको अनुसंन्धान भइरहेकै बेला सरकारको वहालवाला मन्त्री नै गएर छुटाएर ल्याउनु कानूनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ प्रधानमन्त्रीज्यू ? भन्दै प्रवक्ता शर्माले प्रश्न गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार