बिराटनगर । मन्त्रिमण्डल पुर्नगठन हुने हल्लाकाबीच प्रधानमन्त्री ओलीले तत्कालै पुर्नगठन नहुने बताएका छन ।
आइतबार बिराटनगर पुगेर सञ्चारकर्मीहरुसँगको कुरामा प्रधानमन्त्री ओलीले भने, “तत्काल मन्त्रिमण्डल पुर्नगठन हुदैन, एउटा मन्त्रालय खाली छ, त्यसलाई पूर्ण बनाइनेछ ।”
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय अहिले खाली छ । सोहि मन्त्रालयमा पनि कसलाई पठाउने भन्ने बिषयमा पार्टी र सरकारमा खासै छलफल भएको देखिन्न ।
तर, गत साता मात्रै नेकपाका अर्का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने बताएका थिए । मन्त्रिमण्डल पुर्नगठन गर्ने अधिकार प्रधानमन्त्रीसंग भएकाले प्रधानमन्त्रीले चाहेमा त्यो हुन सक्ने प्रचण्डको भनाई थियो ।
सरकारका केहि मन्त्रालयबाट सन्तोषजनक काम हुन नसकेको भन्दै सत्तापक्षका केहि नेताहरुले समेत मन्त्रिमण्डल हेरफेर हुन सक्ने बताइरहेका थिए ।
दुई तिहाइको कम्युनिष्ट सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्रिमण्डल पुर्नगठनमा तत्कालै कुनै सम्भावना नरहेको प्रधानमन्त्री ओलीको यो भनाईले कतिपय मन्त्रिको लाइनमा रहेका नेताहरु भने पक्कै निरास भएका छन ।