
काठमाडौँ । आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । आज दिउँसो उनलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत उपचारका लागि मुम्बई लगिएको हो। भण्डारीका स्वकीय सचिव भुवन भुसालका जनाएअनुसार उनको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार हुनेछ ।
भण्डारीलाई मुम्बईसम्म पुर्याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल एयर इभ्याक्युएसनु टोली संलग्न रहेको भुसालले बताए । सघन उपचार विशेषज्ञ डा। प्रदीप तिवारीको नेतृत्वको मेडिकल टिमले यात्राभर भण्डारीको निगरानी राख्ने छ ।
सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि किर्तिपुर अस्पतालका चिकित्सकहरुले अन्यत्र लैजान सिफारिस गरेपछि मुम्बई लगिएको हो ।
आगलागीबाट उनको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी शरिरको २५–३० प्रतिशत जलेको छ । गएराती भण्डारीको घरमा ग्यास सिलिण्डर लिक भएपछि आगलागी हुँदा उनि जलेर घाइते भएका थिए । आगलागीबाट जलेर गम्भिर घाइते भण्डारीकी आमाको आज बिहान उपचारका क्रममा मुत्यु भएको थियो ।













