प्रचण्ड र ओलीबीच भेटवार्ता, आजै सभामुख र राष्ट्रिय सभाका अध्यक्षसंग पनि भेट हुँदै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आज बिहान सिंहदरवारमा भएको प्रचण्ड र ओलीबीचको भेटवार्तामा समसामयिक बिषय लगायत शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको छ ।

समसामयिक राजनीतिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको अध्यक्ष ओलीले पत्रकारहरुलाई जानकारी दिएका छन् ।

संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल हुँदै आएको छ । छलफलमा दलहरुबीच सहमति जुट्न नसक्दा विधेयक पास हुन सकेको छैन् ।

प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । संसद बस्ने बिषयमा प्रधानमन्त्रीसंग सभामुख र राष्ट्रियसभा अध्यक्षले भेटवार्ता गर्ने बताइएको छ । हिउँदे अधिवेशनलाई बजेट अधिवेशनका रुपमा पनि लिने भएकाले यसलाई महत्वका साथ हेरिएको छ । सुरु हुने संसद अधिवेशनमा केही विधेयकहरु समेत प्रस्तुत गरिने सरकारको तयारी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार