
काठमाडौँ । हिन्दूधर्मालम्वीहरुले आज महाशिवरात्रि पर्व धुमधामसंग मनाइरहेका छन् । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा तिर्थालुहरुले विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा हिन्दूधर्मालम्वीहरुले भगवान् शिवको पूजा–आराधना गरी मनाउने गर्दछन्।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
शिवरात्रिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा आज रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । शिवरात्रिमा पशुपति क्षेत्रमा देशका विभिन्न स्थानलगायत छिमेकी भारतबाट हजारौं तीर्थयात्रीहरु आउने गर्दछन् ।
शिवरात्रिमा दर्शन र पुजापाठका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएका छन् ।
छ ।










