काठमाडौँ । विहीबार तराइका जिल्लामा होली मनाइँदै छ । बुधबार पहाडी जिल्लामा धुमधामका साथ मनाइँएको होली विहीबार तराई तिर उत्सवका रुपमा मनाइँदै छ ।
तराइमा पहाडको एक दिनपछि मात्रै होली मनाइन्छ । पूर्णिमाको दिन होलिकाे दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा फागु पर्व मनाईँदैछ । यस्तै जनकपुरमा भने शुक्रबार होली मनाईने छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा मिथिला माध्यमिकी परिक्रमा गर्नेहरु जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट होली मनाउने परम्परा छ ।
बुधबार सकिएको माध्यमिकी परिक्रमाका श्रद्धालु बिहीबार अन्तरगृह प्रवेश गर्दै छन् । होलीका अवसरमा तराईका जिल्लामा बिहीबार बिदा छ । प्रदेश नम्बर दुई सरकारले भने शुक्रबारका लागि पनि बिदा दिएको छ ।
तराइका जिल्लामा होलीलाई फागु पर्वका रूपमा भव्यताका साथ मनाइने गरिन्छ । यसमा रंग लगानुका साथै पुजाआज गर्ने, आफन्तसँग भेटघाट गर्ने चलन पनि रहेको छ ।