
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकृति हटाउन सबैको साथ आवश्यक पर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ इटालीले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोममा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले चाहेर मात्र विकृति नहट्ने भएका यसका लागि सबैले साथ दिनु पर्ने बताएका हुन् ।
उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान समेत गरे । आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथिति नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्वपूर्ण कामको थालनी गरेको उनले बताए । सरकारको यो काममा सबैको साथ पाउने विश्वास व्यक्त गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरी र संगठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले कडा कदम चालेको बताउँदै उनले भने, ‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीतको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो ।’
प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । ‘यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई पनि सही ट्र्याकमा ल्याइएको बताए ।











