
काठमाडौँ । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्मासहित तीन जनाले सफाइ पाएका छन् । उनीहरुलाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१९, बरहमपुर फूलबारी टोलस्थित १० धुर जग्गामा एउटा सानो छाप्रो हालेर बसेका लालबहादुर विश्वकर्मालाई जिल्ला अदालत सुनसरीले ३ करोड १४ लाख बिगो जरिमानासहित फैसला गरेपछि उनी जेल जानुपरेको थियो ।
२०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौजनाले २०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए । एक दिनपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्सविरुद्ध अर्को मुद्दा दर्ता भयो । अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा सिंहदेवी ज्वेलर्सविरुद्ध पर्यो । मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइयो । उक्त मुद्दामा २०७८ पुस १९ गते आएको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको थियो ।
कामदार लालबहादुरलाई विना कारण जेल सजाय सुनाइएको थियो ।









