इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाईन्न ?


काठमाडौं । यही वैशाख १५ गते इलाम र बझाङमा हुने उपचिर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आजदेखि सुरु भएको मौन अवधि मतगणना सम्पन्न नभएसम्मका लागि लागु हुनेछ ।

मौन अवधिमा कुनै पनि प्रकारको चुनाव प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ । हिजो मध्यराति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितामा निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुने व्यवस्था छ।

प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र सुदूरपश्चिम प्रदेशको बझाङ निर्वाचन क्षेत्र नं १ (१) मा उपनिर्वाचन हुने भए पनि जिल्लाभर मौन अवधि लागु गरिएको आयोगले जनाएको छ ।

२०७९ मंसिर ४ गते भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यस क्षेत्रमा उपचिर्वाचन भइरहेको छ भने बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

आयोगले जनाएअनुसार मतदानको समयमा चुनावका प्रतिस्पर्धीहरुबीच कुनै किसिमको विवाद वा झडप, कुनै अप्रिय घटना नहोस, मतदाता आतंकित नहोउन्, मतदातालाई दबाव र प्रभावविना स्वतन्त्र ढंगले मतदान गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।

मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार गर्न पाइँदैन । साथै एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम र सामाजिक सन्जालबाट समेत मत माग्न निषेध गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको मतदान वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।
निर्वाचनमा उम्मेदवार बनेका नेपाली काँग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन लिम्बु, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम लिम्बुको चर्चा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार